झापा ,बिर्तामोड ,भाद्र -१ /भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजवंशी समुदायले खेल्ने परम्परागत खेल दधिकादो झापाको बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजारमा आयोजना गरिएको छ।

कार्यक्रमको अध्यक्षता वासुदेव माझीले गरेका थिए भने बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाई प्रमुख अतिथि रहनुभएको थियो। सोही अवसरमा वडा नं. ३ का वडा अध्यक्ष मदन बुधाथोकी विशिष्ट अतिथि रहनुभएको थियो। साथै वडा सदस्य हरी बाँस्कोटा, समाजसेवीहरू सुभास भट्टराई, कुमार बुढाथोकी, केशव पाठक, प्रेम प्रसाद उप्रेती, मोनीका माझी, राधेश्याम माझी, बिरेन कोइरालालगायतको पनि उपस्थिति थियो।
स्थानीय बुढापाकाका अनुसार दधिकादो खेल शताब्दीयौँदेखि निरन्तर खेलेँदै आएको सांस्कृतिक परम्परा हो। यसलाई धार्मिक आस्था मात्र नभई माटो र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने खेलका रूपमा समेत लिइन्छ।
अनारमनी पब्लिक क्याम्पसको खुला मैदानमा लिसिलो माटो जम्मा गरी दही र पानी मिसाएर हिलो बनाइएको थियो। त्यसपछि दुई समूहबीच प्रतिस्पर्धा सुरु भयो। खेलमा बीचभागमा नरिवल (दान) राखिएको थियो। एक समूहले उक्त नरिवल मन्दिरमा चढाउने प्रयास गर्दा अर्को समूहले रोक्ने कोशिश गर्ने परम्परा रहँदै आएको छ।
प्रतियोगितामा १५ वर्षमुनि श्रेणीमा शुभम राजवंशी विजयी बने भने १५ वर्षमाथि श्रेणीमा मानव राजवंशी विजयी भए। सोही क्रममा हिलोको बीचमा गाडिएको बाँसको लिङ्गो चढ्न सफल मुकेश राजवंशी विजेता घोषित भए।
खेलमा सहभागी सबै टाउकादेखि खुट्टासम्म हिलोमा भिज्ने परम्परा रहँदै आएको छ भने दर्शकले यसलाई मनोरञ्जनका साथै सांस्कृतिक आकर्षणका रूपमा अवलोकन गरेका थिए। समुदायमा आपसी सद्भाव, सहकार्य र भाईचाराको भावना जगाउने उद्देश्यले पनि यस खेललाई महत्वपूर्ण मानिन्छ।
कार्यक्रम हेर्न बृद्ध, महिला र बालबालिकासहित ठूलो संख्यामा दर्शक उपस्थित थिए। धेरैले यसलाई सांस्कृतिक सम्पदा जगेर्ना र परम्परा हस्तान्तरण गर्ने माध्यमका रूपमा संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रमको सञ्चालन तथा संयोजन तुलसी ढकालले गर्नुभएको थियो।

