विरिङ पुलमा सवारी दुर्घटनामा एकको मृत्यु चार घाइते 

झापा, भदौ १०।झापाको कन्काई नगरपालिका–८, विरिङ पुलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शनिबार राति करिब ८:४० बजे सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मारुती भ्यान चालकलाई तत्काल उद्धार गरी बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याइएको थियो। तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका छन्। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

सोही भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वी­ नाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। उनीहरूलाई बीएण्डसी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा संलग्न पिकअप, मारुती भ्यान र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ। सडकमा अवरोध भने नभएको प्रहरीले जनाएको छ।