बिर्तामोडमा पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयसम्बन्धी शैक्षिक सेमिनार

बिर्तामोड, १७’भदौ

दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै झापाको बिर्तामोडमा पहिलोपटक शैक्षिक परामर्श कार्यक्रम हुने भएको छ ।

सुवेदी एण्ड एसोसिएट्स बिर्तामोड र राइट एजुकेशनल सर्विसेज प्रालिको संयुक्त आयोजनामा आगामी भदौ २४ गते बिर्तामोडस्थित सिद्धार्थ होटल ग्राण्डमा एक दिने सेमिनार आयोजना हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत दिइयो ।

सुवेदी एण्ड एसोसिएट्सका प्रबन्ध निर्देशक रोशन सुवेदीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी तथा अभिभावकले आवश्यक जानकारी नपाउँदा अनावश्यक दुःख भोग्नुपर्ने अवस्था आएको भन्दै यसपटक बिर्तामोडमै कोरियाली विश्वविद्यालयका प्रतिनिधिबाट प्रत्यक्ष परामर्श पाउने अवसर मिल्ने बताए । उनले यसअघि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि बताए ।

राइट एजुकेशनल सर्विसेज प्रालिका प्रबन्ध निर्देशक नबिन बोहोराका अनुसार सेमिनारमा दक्षिण कोरियाको ह्युपसुङ युनिभर्सिटी (Hyupsung University) का एडमिशन मेनेजर ली थोङ हुन र इन्टरनेशनल एडमिशन अफिसर चुङ मियोन तथा चुङबुक हेल्थ एण्ड साइन्स युनिभर्सिटी (Chungbuk Health & Science University) की प्रोफेसर ली मि प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकलाई विश्वविद्यालय, शैक्षिक विषय, नियमकानुन र त्यहाँको वातावरणबारे जानकारी दिनेछन् ।

पछिल्लो समय दक्षिण कोरिया गुणस्तरीय शिक्षा सस्तोमा उपलब्ध हुने गन्तव्यका रूपमा उदाउँदै गएको छ । कोरियाले सन् २०२७ सम्ममा विदेशी विद्यार्थीको संख्या तीन लाख पुर्याउने लक्ष्य लिएको र त्यसमा नेपालका विद्यार्थी पनि आकर्षित भइरहेको आयोजकहरूले बताएका छन् ।

आयोजक संस्थाले दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई आगामी भदौ २४ गते मंगलबारका दिन १० बजे पछी होटेल सिद्धार्थ ग्राण्डमा शैक्षिक अवलोकन कार्यक्रममा सहभागी भई लाभ लिन आग्रह गरेको छ ।