बिर्तामोड–५ मा वृद्ध दम्पतीसँग तीज उत्सव मनाइयो

झापा ,बिर्तामोड – भाद्र -३ /
बिर्तामोड नगरपालिका–५ ले यस वर्षको तीज उत्सवलाई सामाजिक सेवासँग जोड्दै फरक तरिकाले मनाएको छ। हरेक वर्ष भव्य कार्यक्रम आयोजना गर्ने परम्परालाई तोड्दै यसपटक वडामा बसोबास गर्ने वृद्ध दम्पती बच्चालाल ठाकुर र लैला ठाकुरको घरमै पुगेर तीज मनाइएको हो।

अखिल नेपाल महिला संघ (अनेमसंघ) वडा नम्बर ५ को अगुवाइमा आयोजित कार्यक्रममा दम्पतीलाई नगद, खाद्यान्न, ग्यास चुलो तथा अन्य घरायसी सामग्रीहरू उपहारस्वरूप प्रदान गरियो। यस कार्यक्रमले समाजमा वृद्धवृद्धाप्रति सम्मान र सहयोगको सन्देश फैलाएको आयोजकहरूको भनाइ छ।

कार्यक्रम अनेमसंघ वडा कमिटी अध्यक्ष निर्मला ओडारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अनेमसंघ कोशी प्रदेश कमिटी सचिव हेमकला कट्टेल, अनेमसंघ झापा जिल्ला सदस्य भागीरथा आचार्य, क्षेत्रीय कमिटी सदस्य सारदा ठकुरी, नगर अध्यक्ष यसोदा प्रसाईं, वडा इन्चार्ज तथा नगर सदस्य पुष्पा सिटौला, नेकपा एमाले वडा नम्बर ५ का अध्यक्ष धर्मानन्द ओडारी, नगर सदस्य अञ्जना गौतम र नेपाल पर्यटन बोर्ड झापाका उपाध्यक्ष बाबुराम घिमिरेलगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार तीजलाई मनोरञ्जन मात्र नभई सामाजिक सद्भाव, आपसी माया र सेवाभावसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।