बिर्तामोड ९ गरामनीस्थित श्री दुर्गा मा.वि.लाई सहयोग 

झापा , बिर्तामोड–९ गरामनीमा रहेको श्री दुर्गा माध्यमिक विद्यालयलाई पूर्व शिक्षक, पूर्व विद्यार्थी तथा स्थानीय समाजसेवीबाट विभिन्न सहयोग प्राप्त भएको छ। विद्यालयका पूर्व शिक्षक खिलप्रसाद सिवाकोटीको पहलमा सुरु भएको संकलन अभियानलाई निरन्तर साथ दिँदै धेरै व्यक्तिहरूले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ।

Screenshot

सुरुमा १० लिटर रङ र ब्रस बोकेर विद्यालयमा प्रवेश गरेका सिवाकोटीलाई देखेपछि अन्य पूर्व शिक्षक, विद्यार्थी तथा समाजसेवीले पनि सहयोग अघि बढाएका थिए। जेन्जी आन्दोलनका क्रममा विद्यालयमा आगजनी, तोडफोड र लुटपाट हुँदा क्षति पुगेपछि पुनर्निर्माणमा हातेमालो गर्नुपर्ने आवश्यकता महसुस हुँदै आएको उनीहरू बताउँछन्।

पूर्व शिक्षक समाजको तर्फबाट विद्यालयलाई १२ थान फलामका बेंच तथा २१ थान प्लास्टिक कुर्सी उपलब्ध गराइएको छ। यस्तै, मंसिर ७ गतेसम्म विद्यालयले १२ जोडी डेस्क–बेंच, २ लाख ४६ हजार ५ सय नगद तथा १ लाख १२ हजार ५ सय बराबरका जिन्सी सामग्री प्राप्त गरेको सिवाकोटीले जानकारी दिए। आजै आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा थप करिब ७० हजार रुपैयाँ सहयोगको प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व शिक्षक भीष्म उप्रेतीले कठिन अवस्थामा विद्यालयलाई साथ दिन पाउनु आफूहरूलाई खुशीको विषय भएको बताए।

कार्यक्रम प्रधानाध्यापक लक्ष्मण सिवाकोटीको अध्यक्षता तथा पूर्व प्रधानाध्यापक बद्री उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उप्रेतीले विद्यालय सञ्चालनको सुरुवाती चुनौतीहरूको स्मरण गर्दै सीमित भौतिक संरचना र कमजोर आर्थिक अवस्थाबीच विद्यालयलाई आजको अवस्थामा ल्याउन ठूलो संघर्ष गर्नुपरेको उल्लेख गरे।

कार्यक्रममा प्रधानाध्यापक सिवाकोटीले सबै सहयोगी मनप्रति आभार व्यक्त गर्दै विद्यालय अहिले पनि कठिन अवस्थामा रहेको र पुनर्निर्माण तथा व्यवस्थापनका लागि निरन्तर सहयोग आवश्यक रहेको बताए।

जेन्जी आन्दोलनका बेला विद्यालयका स्मार्ट टिभी, ह्वाइटबोर्ड, पंखा, डेस्क–बेंचलगायतका सामानमा ठूलो क्षति पुगेको थियो। हाल पूर्व शिक्षक समाजले विद्यालयको भित्री गेट नजिक दक्षिणपट्टिको क्षतिग्रस्त भवन भत्काएर पुनर्निर्माण कार्य सुरु गरेको छ। विद्यालयलाई सुन्दर, शान्त र आकर्षक बनाउन अहोरात्र खटिने तथा सहयोग रकम पूर्ण पारदर्शितासहित खर्च गरिने पूर्व शिक्षक सिवाकोटीले बताएका छन्।