आज टिका जमरा लगाउने उत्तम साइत बिहान ११:५३ बजे 

झापा, असोज १६ ।

आज विजयादशमी, बडादशैंको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाइँदै छ ।

दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक गरिएको पूजा–आराधनापछि आज दुर्गा भवानीको प्रसाद ग्रहण गर्ने प्रचलन छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउने उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । समितिले टीका ग्रहण गर्ने व्यक्तिले पूर्वतर्फ र टीका लगाइदिने व्यक्तिले पश्चिमतर्फ फर्कनु शुभ हुने जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्वमा दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा थापेर हर्षोल्लासपूर्वक मनाइन्छ । आज टीका लगाउन नभ्याउनेले भने कोजाग्रत पूर्णिमासम्म  टिका जमरा ग्रहण गर्न सक्ने परम्परा छ ।

समितिका अनुसार घटस्थापनाका दिन राखिएको जमरासहित को टिका जमरा लगाउने उत्तम साइत बिहान ११:५३ बजेलाइ मानिएको छ । घटस्थापनामा विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी टीकासँगै लगाउने चलन छ ।