झापा । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार देशभर श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दू परम्परा अनुसार आजको दिन कुकुरलाई विशेष पूजा गरी माला, टीका र स्वादिष्ट खाना खुवाइन्छ । कुकुरप्रति कृतज्ञता र सम्मान प्रकट गर्ने दिनका रूपमा यो पर्व मनाइन्छ ।

कुकुरलाई धर्म र संस्कृति दुवै दृष्टिले विशेष स्थान दिइएको छ । धार्मिक ग्रन्थहरूमा कुकुरलाई यमराजका दूतको रूपमा वर्णन गरिएको छ, जसले मानिसको आत्मालाई परलोकसम्म पुर्याउने काम गर्छन् भन्ने विश्वास छ । त्यसैले आजको दिनमा कुकुरलाई आदरपूर्वक पूजा गरी उनको योगदानप्रति आभार व्यक्त गरिन्छ l
आज बिहानैदेखि कुकुरहरूलाई माला लगाउने, टिका लगाउने र स्वादिष्ट भोजन खुवाउने दृश्य देख्न सकिन्छ । सडकका कुकुरदेखि घरपालुवा सबै कुकुरलाई समान रूपमा सम्मानका साथ पूजा गरिएको छ ।

कुकुर तिहारले मानिस र जनावरबीचको आत्मीय सम्बन्धलाई झल्काउँछ ।बिर्तामोडकी श्रध्दा पोख्रेलले भनिन “कुकुर हाम्रो घरको सुरक्षाकर्मी मात्र होइन, परिवारको सदस्यजस्तै हो l आजको दिनले हामीलाई उनीहरूप्रति कृतज्ञता प्रकट गर्न मात्र होइन सधैभरी यसैगरी सम्मान गर्न सकियोस भनेर यस दिनलाइ बर्षैभरीको प्रतिकको रुपमा लिन सकिन्छ ” जस्ले आफनै घरमा ४० – ५० ओटा कुकुरलाइ आश्रय दिएकी छन भने सडक भरीका घाइते ,रोगी र असक्त कुकुर स्यार सुसार र खाना खुवाउदै हिन्ड्छीन l
यस्तो दिनले मानव र पशुप्रेमबीचको नाता अझ बलियो बनाउँदै समाजमा करुणा, दया र सहअस्तित्वको सन्देश दिन्छ । कुकुर तिहारले केवल पूजा मात्र होइन, सबै प्राणीप्रति सम्मान र प्रेमको सन्देश फैलाउने माध्यम बनेको छ ।
