झापा । हिन्दू धर्मावलम्बीहरूले आज देशभर गोवर्धन पूजाको पर्व अत्यन्त श्रद्धा र उत्साहका साथ मनाइरहेका छन्। तिहार (यम पञ्चक)को चौथो दिनका रूपमा मनाइने यो पर्वलाई गोरु तिहार, हल तिहार वा अन्नकूट पर्व पनि भनिन्छ।

पौराणिक कथनअनुसार, गोवर्धन गोकुल नजिकैको पर्वत हो, जहाँ भगवान् श्रीकृष्ण बाल्यकालमा ग्वालाहरू (गोपालहरू)सँग बस्दथे। त्यतिबेला गोपालहरूले वर्षा र समृद्धिका लागि देवताका राजा इन्द्रको पूजा गर्थे, तर त्यसको फल प्राप्त नहुँदा कृष्णले उनीहरूलाई इन्द्रको सट्टा खनिज, घाँस, पानी, दाउरा र जीवनको आधार दिने गोवर्धन पर्वतको पूजा गर्न प्रेरित गरे।
गोकुलवासीहरूले कृष्णको सल्लाहअनुसार गोवर्धन पर्वतको पूजा गरेपछि इन्द्र क्रुद्ध भएर भीषण वर्षा र असिनापानी गराउँछन्। त्यस बेला भगवान् कृष्णले गोवर्धन पर्वत हातले उचालेर सम्पूर्ण गोकुलवासीहरूलाई आश्रय दिएका थिए। अन्ततः इन्द्रले आफ्नो अहंकार त्यागी कृष्णसँग क्षमा मागेपछि वर्षा रोकिन्छ, र त्यसै घटनाको सम्झनामा गोवर्धन पूजाको सुरुवात भएको मानिन्छ।

संस्कृतमा “गौ” शब्दको अर्थ गाई हुने भएकाले गोवर्धन, गोकुल र गोपाल शब्दहरूले त्यस समयको समाजमा गाईप्रतिको सम्मान र कृतज्ञताको भावना झल्काउँछन्। त्यसैले आजका दिन घरआँगनमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई पूजा गर्ने, गोरू र हलको पूजा गर्ने परम्परा रहिआएको छ।
देशका विभिन्न ठाउँमा आज बिहानदेखि नै भक्तजनहरूले गोबरको पर्वत बनाएर पूजा अर्चना गरेका छन्। किसान वर्गले आफ्नो मुख्य श्रमसाथी गोरूलाई सजाएर पूजा गरेका छन् भने घर–घरमा अन्नकूट भोग लगाउने चलन पनि छ।

धार्मिकविद्हरूका अनुसार, यो पर्वले प्रकृति, पशुधन र श्रमप्रतिको कृतज्ञता व्यक्त गर्छ र सहकार्य, सद्भाव तथा श्रमको महत्त्वलाई स्मरण गराउँछ।