झापा , बिर्तामोड । हिन्दू धर्मावलम्बीहरूले आज देशभर हरिबोधनी एकादशी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन् । कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई ‘प्रबोधिनी’, ‘देवउठाउने एकादशी’ वा ठुली एकादशी पनि भनिन्छ ।

धार्मिक कथन अनुसार, चार महिनाअघि शायनी एकादशीका दिन भगवान विष्णु ‘क्षीरसागर’मा योगनिद्रामा गएका र आजको दिन उनी निद्राबाट जागरण हुने भएकाले यस दिनलाई ‘हरिबोधनी’ अर्थात् भगवान विष्णुको जागरण दिनका रूपमा मनाइन्छ ।
यस दिन ब्राह्मण, साधु ,सन्त र श्रद्धालु भक्तजनहरूले व्रत बस्ने, व्रत कथा सुन्ने, तुलसी पूजन गर्ने, र घरघरमा तुलसी विवाह गरी देवउठाउने परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिनदेखि नै विवाह संस्कार लगायतका शुभ कार्यहरू गर्न पनि उपयुक्त मानिन्छ ।
आज देशका विभिन्न मठ मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । भगवान विष्णुको आराधना गर्दै दान गर्ने र तुलसीको पूजा गरी वर्त बस्दा पारिवारिक सुख, शान्ति र समृद्धि हुन्छ भन्ने परम्परा रहिआएको छ ।

तुलसी र शालिग्रामको विवाह गर्ने चलन पनि आजकै दिनबाट सुरु हुन्छ । भक्तजनहरूले तुलसीको बोट सजाएर मण्डप तयार गरी विष्णु र तुलसीको प्रतीकात्मक विवाह गर्छन् । यो विवाहलाई ‘ तुलसी विवाह’ भनिन्छ र यसलाई अत्यन्त पुण्यदायी मानिन्छ ।
आज अर्थात “हरिबोधनी एकादशीमा व्रत गरी भगवान विष्णुको आराधना गरे पापहरू नाश भई मोक्ष प्राप्त हुने विश्वास छ । तुलसी पूजा र दान पुण्यले जीवनमा सुख, शान्ति र समृद्धि ल्याउँछ,” भन्ने जनविश्वास रहिआएको छ ।
