आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने 

झापा, बिर्तामोड ,कार्तिक १८/ निर्वाचन आयोगले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आचारसंहिता तर्जुमा गरिरहेको छ । जसमा कडाइ गरिने प्रावधानहरू राख्न खोजिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतको भन्दा यो पटकको निर्वाचन विशेष परिस्थितिमा भइरहेको कारण निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने बताउँछन् ।

उनी भन्छन्, ‘२०७९ सालमा भएको निर्वाचन र २०८२ सालमा हुने निर्वाचनमा थोरै भिन्नता रहेको छ । ०७९ सालका आवधिक निर्वाचन भएको थियो । अहिले आन्दोलनको जगमा हुन लागेको निर्वाचन हो ।’

आन्दोलनको जगमा निर्वाचन भइरहेको कारण आचारसंहिता कार्यान्वयन आयोगले गम्भीरताका साथ काम गर्ने उनको प्रतिवद्धता छ ।

उनी थप्छन्, ‘गत ०७९ मा भएको निर्वाचनमा आचारसंहिता कार्यान्वयन गराउने भूमिका मैले नै निर्वाह गरेको थिएँ । आफैंले संयोजन गरको थिएँ । अहिले त्योभन्दा केही पृथक ढंगले आचारसंहिता तर्जुमा गर्नुपर्ने र त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले पूरा गर्न कानुन एवं नीतिलाई संविधानभन्दा पनि अग्रगामी बनाएर लागू गरिने बताएका छन् ।