बिराटमोड, झापा ।
बिराटमोड–३, सैनिकमोडस्थित बिराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सातौँ अधिवेशन तथा २०औँ वार्षिक साधारणसभाका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। सहकारीको विधान–२०७९ को दफा १० तथा निर्वाचन नियमावलीअनुसार आगामी कार्यकालका पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रियाको विस्तृत समयसूची संस्थाले सार्वजनिक गरेको हो।

सहकारीले निर्वाचन मिति नजिकिँदै गर्दा सदस्यहरूको सहभागिता र पारदर्शिता सुनिश्चित गर्न मतदाता नामावली प्रकाशनदेखि उम्मेदवार मनोनयन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन हुँदै मतदान तथा मतगणनासम्मको सम्पूर्ण चरणलाई स्पष्ट रूपमा उल्लेख गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्यक्रमअनुसार मतदाता नामावली मंसिर १३ गतेबाट प्रकाशित हुनेछ भने मतदान मिति मंसिर १७ गते बिहान ९:०० बजेबाट सुरू भएर बेलुकी ४:०० बजेसम्म सञ्चालन गरिनेछ। मतदान तथा मतगणना सैनिकमोडस्थित सहकारी कार्यालयमै हुने बताइएको छ।
कार्यक्रमअनुसार प्रमुख चरणहरू यसप्रकार छन्—
• मतदाता नामावली प्रकाशन: मंसिर १३
• नामावलीमा दाबी–विरोध दर्ता: मंसिर १४
• अन्तिम मतदाता नामावली प्रकाशन: मंसिर१५
• उम्मेदवार मनोनयन दर्ता: मंसिर १५
• मनोनयनमा दाबी–विरोध: मंसिर १५
• अन्तिम उम्मेदवार नामावली प्रकाशन: मंसिर १६
• मतदान तथा मतगणना: मंसिर १७
सहकारीले सबै सदस्यलाई तोकिएको समयमै उपस्थित भई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। पारदर्शी, व्यवस्थापकीय तथा सबै सदस्यको सहभागितामूलक वातावरणमा निर्वाचन सम्पन्न गर्ने संस्थाको लक्ष्य रहेको सस्थाका प्रवन्धक रुद्र प्रसाद सिटौलाले बताउनु भएकोछ।
