जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण

बिर्तामोड, झापा । जेसीज सप्ताहअन्तर्गत तेस्रो दिन चौथो कार्यक्रमका रूपमा वीरता जेसीजले विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरेको छ। डिजिटल माध्यम तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि वृद्धि भइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

विरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका–५ स्थित महेन्द्र रत्न नमुना माध्यमिक विद्यालयका माध्यमिक तहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रशिक्षण कार्यक्रमबारे जानकारी गराउँदै वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले विद्यार्थीहरूलाई सही तरिकाले डिजिटल उपकरण तथा सामाजिक सञ्जालको प्रयोग गर्न प्रेरित गर्ने उद्देश्य कार्यक्रमको मूल लक्ष्य रहेको बताए।

कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई प्रमुख अतिथि रहनुभएको थियो। साइबर सुरक्षाका सैद्धान्तिक तथा व्यावहारिक दुवै पक्ष समेटिएको प्रशिक्षण इलाका प्रहरी कार्यालय अनारमनी अन्तर्गत रहेका साइबर शाखाका प्रहरी सहायक निरीक्षक प्रदीप आले मगरले प्रदान गरेका थिए। उनले सामाजिक सञ्जालमा सुरक्षित रहने, पासवर्ड सुरक्षा, अनलाइन ठगीबाट जोगिने उपाय, व्यक्तिगत गोपनीयता संरक्षण तथा डिजिटल फूटप्रिन्टका विषयमा विस्तृत रूपमा प्रशिक्षण दिए।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटी, महेन्द्र रत्न नमुना माविका सहायक प्रधानाध्यापक कृष्ण प्रसाईलगायतको आतिथ्य रहेको थियो। जनसम्पर्क अधिकृत अभिषेक गहतराले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रम संयोजन विश्वजीत हल्वाईले गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए।

साइबर अपराधको जोखिम बढ्दै गएको बेला विद्यालयस्तरमै यस्तो सचेतना गर्ने कार्यक्रम प्रभावकारी र समयानुकूल भएको सहभागीहरूले बताएका छन्।