बुद्धशान्ति– झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्षका तर्फबाट एक फेसबुक पेजमा सार्वजनिक भएका पोस्टहरूबारे वडाध्यक्षसहित पदाधिकारीहरूले आपत्ति जनाउँदै त्यसविरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
२०८२ असार १९ गते बुद्धशान्ति गापा वडा नं. १ को कार्यालयबाट कागजातमा हस्ताक्षर भएको भनेर फेसबुकमा सार्वजनिक गरिएको पोस्टप्रति आपत्ति जनाउँदै वडाध्यक्ष र पदाधिकारीहरूले प्रेस विज्ञप्तिमार्फत उक्त कार्य नियोजित बदनियतसहित गरिएको दाबी गरेका छन्।
उनीहरूका अनुसार, पोष्ट गरिएको कागजमा देखाइएको हस्ताक्षर उनीहरूले नगरेको र उक्त पोस्टले सामाजिक सद्भाव विथोल्ने र आफूहरूलाई बदनाम गराउने प्रयास गरेको स्पष्ट गरिएको छ।

घटनाको सिलसिलामा एक परिवारको निजी सम्पत्तिको विषयलाई गलत रूपमा राजनीतिकरण गरिएको र त्यसैको आधारमा गलत आशयसहित सो पोस्ट सार्वजनिक गरिएको उल्लेख छ।
एक भट्टराई परिवारका एक जना दिवंगत बुवाको नाममा रहेको जग्गा नामसारी गर्न गरिएको सर्जिमिन मुचुल्का विषयमा ‘किर्ते’ भयो भनिएको विषय बुद्धशान्ति साप्ताहिक नामको फेसबुक पेजमा सार्वजनिक भएपछि सोही विषयले अहिले बुद्धशान्तिको माहोल तताएको छ।
वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीले किर्ते गरेको भनिएको सर्जिमिन मुचुल्का भट्टराई परिवारका बाबु छोरा भोजराज र उमेश भट्टराईले स्वयंले किर्ते गरेको वडा कार्यालयले स्पष्ट पारेको छ।
अघिल्लो दिन वडा कार्यालयका कर्मचारी झलक परियारले तयार गरेको सर्जिमिन मुचुल्काको अन्तिम पृष्ठ एकाएक भट्टराई बाबु छोराले गायव बनाएर भोलिपल्ट साक्षीहरूलाई घर-घर गएर पुनः सही गराएको एक जना साक्षी सुन्दर थापाले पत्रकार सम्मेलनमा बताए।
उनले भने, ‘अघिल्लो दिन एउटा कागजमा सही गराउने अनि फेरि भोलिपल्ट पहिलाको कागज मिलेन भनेर अर्को कागजमा सही गराए। उनीहरूले नै यस्तो किर्ने गर्छन् भन्ने कस्लाई थाहा र।’
आफू विदामा बर्दिबास गएका बेला आफ्नो सही पनि किर्ते गर्नेहरूले गरेर मालपोत कार्यालयमा कागज लगेको कर्मचारी परियारले बताए। तर सो किर्ते कागज वडा कार्यालयले जफत गरिसकेको वडा अध्यक्ष अनिल वाग्लेले बताए।
प्रेस विज्ञप्तिमा भनिएको छ, “सो पोस्टका कारण गाउँमा जातीय द्वेष, द्धन्द्व, असहिष्णुता, एकताविरोधी र विघटनकारी सोच फैलाउने प्रयास भएको छ।”
साथै, विज्ञप्तिमा घटनाको पृष्ठभूमिमा भइरहेको जग्गा सम्बन्धी विवादलाई लिएर योजनाबद्ध रूपमा गाउँपालिका कार्यालय र वडा कार्यालयमा कर्मचारी तथा पदाधिकारीको संलग्नता देखाएर झूटो प्रमाण खडा गरिएको दाबी गरिएको छ।
उक्त फेसबुक पोस्टमा प्रयोग गरिएको कागजात तयारी प्रक्रिया पूर्ण रूपमा गलत भएको र सम्बन्धित व्यक्तिले वडा अध्यक्षको छवि धूमिल पार्ने नियत राखेर काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्तिको पूर्णपाठः
