झापा ,बिर्तामोड /युवाहरूको नेतृत्व, क्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा निरन्तर सक्रिय भूमिका खेलेको वीरता जूनियर जेसीजलाई नेपाल जेसीजले “उदीयमान उत्कृष्ट शाखा (Emerging Outstanding Local Organization)” अवार्ड प्रदान गरेर सम्मानित गरेको छ।

२०२५ को सुरुवातदेखि नै संस्था सामाजिक रूपान्तरण, जनचेतना, सीप विकास, स्वास्थ्य, वातावरण, नेतृत्व र सामुदायिक upliftment जस्ता विषयमा दर्जनौँ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरूले न केवल स्थानीय युवालाई प्रत्यक्ष रूपमा अवसर प्रदान गरे, तर समाजमा सकारात्मक ऊर्जा र नेतृत्व विकासको माहोल पनि सिर्जना गर्यो।
संस्थाका अध्यक्ष अस्मित गोसाईको दूरदर्शी नेतृत्व, योजनाबद्ध कार्ययोजना, सक्रिय समन्वय र युवालाई उत्प्रेरित गर्ने असाधारण क्षमताको कारण वीरता जूनियर जेसीजले छोटो अवधिमै राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाउन सफल भएको नेपाल जेसीजले जनाएको छ।

कार्यकालभरि अध्यक्ष गोसाईले युवालाई जिम्मेवारी, नेतृत्व र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विविध कार्यक्रम सञ्चालन गरेका थिए। त्यही मेहनत, प्रतिबद्धता र उपलब्धिका आधारमा उहाँले यसअघि नै नेपाल जेसीजबाट “Best Emerging President Award” पनि प्राप्त गरिसक्नुभएको छ।
यो अवार्डले वीरता जूनियर जेसीजलाई अझ प्रेरित बनाएको तथा आगामी दिनमा युवामैत्री कार्यक्रमलाई थप प्रभावकारी रूपमा विस्तार गर्दै समाजमा नेतृत्व अभिवृद्धिको कामलाई निरन्तरता दिने संस्थाले जनाएको छ।
