मन्त्रीद्वारा ट्रस पुलको उद्घाटन

बिर्तामोड, ६ भदौ : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ र कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुलको आज उद्घाटन गरिएको छ ।

एक संक्षिप्त कार्यक्रमका बीच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले २८ मिटर लामो उक्त ट्रस पुलको उद्घाटन गर्नु भयो ।

उपभोक्ताको ८० हजार ४ सय ४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार ६ सय २२ रुपैयाँ ३५ पैसा गरी कुल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसामा पुल निर्माण सम्पन्न भएको जनाईएको छ । यस पुलबाट प्रत्यक्षरुपमा २ सय ६६ घर लाभान्वित हुनेछन् । पुल निर्माणमा सहारा नेपालकोसमेत सामाजिक तथा प्राविधिक सहयोग रहेको जनाईएको छ ।

पुल उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, सरोकारवाला निकायका प्रमुख तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।