झापा- २०८२ भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा महानगर प्रहरी कार्यालय, रानीपोखरीबाट लुटिएका दुई थान हतियार र २० राउण्ड गोलीसहित तीनजना व्यक्ति झापाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा झापा दमक वडा न.६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन, दमक वडा नं ९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली वडा नं ४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन्।
प्रहरी टोलीले गएराति ८:३० बजे दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा गरी बस्ने सरोज पुरीलाई बाटोमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।
उनको साथबाट एक थान ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल र सोको १५ राउण्ड गोली बरामद भएको थियो। पुरीलाई इलाका प्रहरी कार्यालय (इप्रका) दमकमा ल्याएर सोधपुछ गर्दा उनले अर्को हतियार कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा विश्व लिङ्देनलाई राख्न दिएको बयान दिए। सो बयानका आधारमा प्रहरीले लिङ्देनलाई उनको घरबाटै पक्राउ गरेको थियो।
विश्व लिङ्देनलाई थप सोधपुछ गर्दा उनले तेस्रो हतियार इलाम चुलाचुलीका पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको बताएका थिए। लिङ्देनको बयानपछि उक्त स्थानमा प्रहरी पुगेको थियो। हाङसुङ्वाले आफ्नै बारीमा खाल्डो खनी रातो प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा अर्को एक थान ठूलो चापे टाईप ५४ चाइनिज पेस्तोल र सोमा लोड गरी राखिएको खिया लागेको अवस्थाको ५ राउण्ड गोली फेला परेको थियो।
प्रहरीले बरामद हतियार र गोलीसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि काठमाडौँ पठाएको छ।

स्मरण रहोस्, विश्व लिङ्देनका पिता विश्वदीप लिङ्देन २०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका थिए।
उनी दुई वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनीत भएका थिए।
