बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न छैटौं वडा स्तरीय नकआउट तथा दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।

छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले हात पारेको छ । फाइनल खेलमा वडा नं. १० ले वडा नं. ३ लाई गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै वडा नं. १० ले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नं. ३ ले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
फाइनल खेलमा वडा नं. १० का सुजन लिम्बु र घनश्याम कार्कीले गोल गरेका थिए भने वडा नं. ३ का सञ्जय हस्दाले एकमात्र सान्त्वना गोल गरे । फाइनल खेलको प्लेयर अफ द म्याच आरके कन्दङ्वा घोषित हुँदै नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट वडा नं. १० का सौरभ लिम्बु भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसैगरी उत्कृष्ट गोलकिपर वाल्मीकि राई, उत्कृष्ट मिडफिल्ड उत्सव राई, उत्कृष्ट स्ट्राइकर आशिष चापागाईं, उत्कृष्ट डिफेन्स खेसेहाङ लिम्बू र उत्कृष्ट कोच सुरेन तुम्रोक घोषित भए । उनीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।
त्यस्तै, बिर्तामोड नगर खेलकुद विकास समितिकै आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि वडा नं. १० ले जितेको छ । आइतबार सहिद नेत्र पार्कको खेल मैदानमा सम्पन्न फाइनल खेलमा वडा नं. १० ले वडा नं. ५ लाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

भेट्रान्स प्रतियोगितामा उपाधिसँगै वडा नं. १० ले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता वडा नं. ५ ले १५ हजार रुपैयाँ पुरस्कार पायो । फाइनल खेलमा वडा नं. १० का महेश राईले दुई गोल तथा दिलेन लोक्तामले एक गोल गरे । खेलको प्लेयर अफ द म्याच महेश राई घोषित हुँदै नगद १ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पुस ४ गतेदेखि सुरु भएका दुवै प्रतियोगितामा नकआउटतर्फ नगरका ९ वटा वडाका तथा भेट्रान्सतर्फ ८ वटा टिमको सहभागिता रहेको थियो । बिर्तामोड नगर खेलकुद विकास समितिले हरेक वर्ष क्यालेन्डरमा समेटेर वडा स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको समितिका सचिव विष्णु लिम्बुले जानकारी दिए ।

