लायन्स क्लब अफ धाइजन चारालीद्वारा खाद्यान्न सहयोग

धाइजन, झापा।   ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ C अन्तर्गतको लायन्स क्लब अफ धाइजन चारालीले मानवीय सेवा अन्तर्गत राहत सामग्री वितरण गरेको छ।

लायन्स क्लबको “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने भावना अनुरूप मेचीनगर–१२, धाइजन निवासी दिल कुमारी कार्कीको परिवारलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरिएको हो। विपन्न अवस्थामा रहेको सो परिवारलाई हातमुख जोर्न सहज होस् भन्ने उद्देश्यले क्लबले यो कार्यक्रम आयोजना गरेको हो।

 क्लबका अध्यक्ष लायन सुमन चिमरियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि मनोज खरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा जोन चियरपर्सन लायन जगन भट्टराई र पूर्व अध्यक्षहरु धन बहादुर तामाङ, टिकाराम रिजाल  लगायत क्लबका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

सहयोग हस्तान्तरण गर्दै क्लबका अध्यक्ष चिमरियाले समाजमा रहेका असहाय र अति आवश्यक परेका व्यक्तिहरूलाई सहयोग गर्नु नै लायन्सको मुख्य लक्ष्य रहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि मनोज खरेलले सामाजिक सेवामा लायन्स क्लबले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

सहयोग प्राप्त गरेपछि कार्की परिवारले क्लबप्रति आभार प्रकट गरेको छ। कार्यक्रमको अन्त्यमा अध्यक्ष चिमरियाले उपस्थित सम्पूर्ण अतिथि तथा सहयोगी मनहरूमा हार्दिक कृतज्ञता एवं आभार व्यक्त गर्नुभएको थियो।