झापा, पुस २९ ।
झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा सभामुखले आफ्नो तीन वर्षे कार्यकालमा गरेका काम र उपलब्धि अनि चुनौतीबारे विस्तृत जानकारी सार्वजनिक गरेका छन्। झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत सभामुखले राजनीतिक अस्थिरता, पटक–पटक सरकार परिवर्तन र कानुनी जटिलताबीच पनि विकास, पूर्वाधार र जनसरोकारका क्षेत्रमा निरन्तर पहल गरिएको स्पष्ट पारे।


२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित भई पुस ८ गते सपथ ग्रहण गरेका उनी २०७९ माघ ५ गते प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए। उनले आफ्नो कार्यकालमा पाँच फरक–फरक सरकारसँग काम गर्नुपरेको यथार्थ सुनाउँदै यस्तो अवस्थाले दीर्घकालीन योजना कार्यान्वयनमा चुनौती थपिएको बताए।
सभामुखले पछिल्लो समय भएको आन्दोलन, र विध्वंसका घटनाले देशको संविधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि गम्भीर असर पारेको उल्लेख गरे। उनका अनुसार मानवीय क्षतिसँगै सरकारी तथा निजी संरचनामा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको छ।


“संविधानलाई लिकबाट बाहिर जान नदिनु र पुनः लयमा फर्काउनु हामी सबैको दायित्व हो,” सभामुखले भने। उनले संसद् पुनःस्थापना गरी आन्दोलनका जायज मागहरू कानुनी संशोधनमार्फत सम्बोधन गर्दै निर्वाचनमा जानु उपयुक्त विकल्प भएको धारणा राखे। यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले छिटो फैसला होस् भन्ने अपेक्षा पनि व्यक्त गरे l
सभामुखले आफ्नो कार्यकालमा निर्वाचन क्षेत्र नम्बर २ मा संघीय सरकारमार्फत ३२३ वटा विकास योजना परेको जानकारी दिए।

तीन वर्षमा कुल ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको भए पनि ठेक्का नलाग्ने, न्यून मूल्यमा बिडिङ हुने, समयमा काम सम्पन्न नहुने र बजेट फ्रिज हुने समस्याका कारण करिब ५० प्रतिशत मात्र खर्च हुन सकेको उनले स्वीकार गरे। केही योजना पछिल्लो सरकारले रोक्का तथा कटौती गरेकोसमेत जानकारी दिइयो।
यस अवधिमा निर्वाचन क्षेत्र नम्बर २ मा ७६ किलोमिटर सडक कालोपत्रे भएको छ। बिर्तामोड–चन्द्रगढी सडक, मदन भण्डारी सडकलगायतका ठूला सडक योजनालाई पुनः सञ्चालन गरी निर्माण कार्य अगाडि बढाइएको बताए।
कन्काई–९ को घैलाडुवा–चम्पापुर जोड्ने विरिङ खोलामा पक्की पुल निर्माणको काम ठेक्का लागेर सुरु भएको छ। सिन्ड्रे–खुदुनाबारी सडकको पुलका लागि विपद् व्यवस्थापन अन्तर्गत ३५ करोड रुपैयाँ स्वीकृत भई ठेक्का प्रक्रियामा रहेको जानकारी दिइयो।
बिर्तामोड, अर्जुनधारा र बुद्धशान्ति क्षेत्रका विभिन्न खानेपानी आयोजनामा संघ तथा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको छ। सिँचाइतर्फ चौरासी बिघे सिँचाइ आयोजना, सखुवागाछी चेकड्यामलगायत योजनाहरू सञ्चालनमा रहेका छन्।
विरिङ, हडिया, देउनिया, सुखानी, दहीझोडालगायत खोलामा तटबन्ध निर्माण गरी बाढी नियन्त्रण र जग्गा संरक्षणको काम गरिएको छ।
शिक्षा क्षेत्रमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत तीन वटा माध्यमिक विद्यालयले ६ करोड रुपैयाँभन्दा बढीको भवन निर्माण बजेट प्राप्त गरेका छन्। चिनियाँ दूतावासको सहयोगमा बिर्तामोडका दुई आधारभूत विद्यालयमा भवन निर्माण भएको छ।
स्वास्थ्यतर्फ शनिश्चरे अस्पताल, अर्जुनधारा नगर अस्पताल र बिर्तामोड नगर अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराइएको छ। अर्जुनधारा नगर अस्पतालमा अपरेशन थिएटरसमेत सञ्चालनमा आएको छ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण सुरु गरिएको छ। डोमालाल रंगशाला, अर्जुनधारा खेलमैदान र बिर्तामोड कवर्ड हलको स्तरोन्नति भएको छ। सुखानी शहीद स्मृति पार्कलगायत पर्यटकीय स्थल संरक्षणमा पनि बजेट विनियोजन भएको छ।
अन्त्यमा सभामुखले मतदाता, स्थानीय तह, राजनीतिक दल, कर्मचारी र सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै बाँकी अधुरा योजनालाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता जनाए। “समन्वय र सहकार्यकै माध्यमबाट क्षेत्रको समृद्धि सम्भव छ,” उनले भने।
