बुद्धशान्तीमा साताव्यापी सरसफाइ अभियान सम्पन्न

बुद्धशान्ती, माघ २२ – ‘मेरो फोहोर, मेरो दायित्व’ भन्ने नाराका साथ बुद्धशान्ती गाउँपालिकामा त्यस पालिकाका युवाहरूले सप्ताहव्यापी सरसफाई अभियान सम्पन्न गरेका छन्। गाउपालिकाको सात वडामा सात दिनसम्म लगातार सरसफाई अभियान सञ्चालन गरिएको थियो।

स्थानीय तहको सक्रिय सहभागितामा सञ्चालित यस अभियानले पर्यटकीय स्थल, धार्मिक मठमन्दिर, पाटीपौवा तथा सार्वजनिक भवनहरूलाई स्वच्छ राख्नुपर्ने सन्देश प्रवाह गरेको छ। ‘आफ्नो टोल, वडा, पालिकालाई सफा राख्न स्थानीयवासीको भूमिका महत्वपूर्ण छ,’ सरसफाइ अभियानका सक्रिय युवा रोशन कटवालले बताए।

कार्यक्रमको उद्देश्य पालिकालाई स्वच्छ बनाउनुका साथै प्रत्येक नागरिकलाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउनु रहेको थियो। अभियान सफल बनाउन स्थानीय युवाहरू, जनप्रतिनिधिहरू तथा विभिन्न संघ-संस्थाहरूले महत्वपूर्ण योगदान दिएका थिए।

बुद्धशान्ती गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply