सन्थाल समुदायको महान सोहराय पर्व बुधबार, नेपाल आइडलकी मुना सोरेनसहित कलाकारहरूको प्रस्तुति

झापा — सन्थाल समुदायको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महान सोहराय पर्व आगामी २०८१ माघ ३० गते (बुधबार) गरामुनि, हल्दिबारी रोडमा भव्य रूपमा मनाइने भएको छ।

यस पर्वमार्फत सन्थाल समुदायका धर्म, संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्परालाई पुनर्जीवन दिने तथा आगामी पुस्तालाई आफ्नो अमूल्य सांस्कृतिक सम्पदासँग परिचित गराउने लक्ष्य राखिएको छ।

पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य, गीत तथा विविध सांस्कृतिक क्रियाकलापहरू आयोजना गरिने छ। कार्यक्रममा चर्चित सन्थाल कलाकार मुना सोरेन (नेपाल आइडल प्रतियोगी), टुप्ला सोरेन, रिमिल श्यामसुन्दर, बेश्ररा नेपालि गीत गायक निरज पोखरेल लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

सन्थाल समुदायको भेषभूषा, परम्परागत खाना, बाजागाजा तथा आकर्षक सामग्रीहरू समेत प्रदर्शनीमा राखिने आयोजक कमिटीका सचिव स्याम मुर्मुले जानकारी दिएका छन्।

सन्थाल समुदायको मौलिकता झल्काउने यो पर्वमा स्थानीय समुदायका साथै अन्य आगन्तुकहरूलाई पनि उपस्थित भई सन्थाल सांस्कृतिक धरोहरको सौन्दर्य अनुभव गर्न आयोजकले आग्रह गरेको छ।