
बिर्तामोड, फागुन ६ – नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले नगरभर ‘जरा अभियान’ सुरु गरेको छ। नगर कमिटीको कार्ययोजनाअनुसार आज बिर्तामोडका १० वटा वडामा एकैसाथ बैठक तथा छलफल गर्दै अभियानको औपचारिक सुरुवात गरिएको छ।
बिर्तामोड वडा नं. ७ मा पनि जरा अभियान थालनी गरिएको छ। नेकपा (एमाले) झापा जिल्ला कमिटी सदस्य हडम मुर्मुको प्रमुख आतिथ्यतामा आयोजित बैठक वडा कमिटी अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा नगर कमिटी, वडा कमिटीका पदाधिकारी तथा स्थानीय नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव बिबेक मिश्रले गरेका थिए। बैठकमा नगर कमिटी सदस्य अविर कृष्ण खरेल, लता विश्वकर्मालगायतका नेताहरूले जरा अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। नगर कमिटी सदस्य तथा वडा अध्यक्षले अभियान सफल पार्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। बैठकले पार्टी संगठनलाई थप सुदृढ गर्दै जनसम्पर्क अभिवृद्धि गर्ने, सदस्यता विस्तारलाई प्राथमिकता दिने, स्थानीय समस्याहरू पहिचान गर्दै समाधानका लागि पहल गर्ने विषयमा विस्तृत छलफल गरेको थियो।

त्यस्तै, नेकपा (एमाले) वडा नं. ३ को तेस्रो पूर्ण बैठक तथा वडा केन्द्रित ‘जरा अभियान’ वडा कमिटी अध्यक्ष कोसिस घिमिरेको अध्यक्षता र अभियानका संयोजक हरी प्रसाद ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। बैठकमा विभिन्न पार्टी जिम्मेवारीमा रहेका पदाधिकारी तथा अग्रज पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका सञ्चालन वडा कमिटी सचिव श्री प्रसाद न्यौपानेले गरेका थिए भने कृतिका आचार्यले स्वागत मन्तव्य दिएकी थिइन्। बैठकमा अग्रज कमरेडहरू चक्र प्रसाद बिमली, टिका राम खरेल, नगर कमिटी सदस्य कुमार बुढाथोकी, प्रकाश भट्टराई, नैनकला ढकाल, हरी प्रसाद बास्कोटा, नवीन किशोर बिमली, नसीम अख्तर, नगर लेखा उपाध्यक्ष दिनेश अधिकारी, सचिव हिमाल मैनाली, सदस्य लक्ष्मी रोक्कालगायत वडा कमिटी, टोल कमिटी तथा भातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूको धारणा
कार्यक्रमका प्रमुख अतिथि हरी प्रसाद ओझा, कार्यक्रम अध्यक्ष कोसिस घिमिरे, वडा जनप्रतिनिधि हरी प्रसाद बास्कोटा, अग्रज कमरेड टिका राम खरेल, चक्र प्रसाद बिमली, नगर कमिटी सदस्य कुमार बुढाथोकीलगायतका वक्ताहरूले जरा अभियानको सफलताको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए।
बैठकका निर्णयहरू
बैठकले फागुन १२ गते टोल कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ। बैठकमार्फत जरा अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति तय गरिनेछ।
जरा अभियानको उद्देश्य
जरा अभियानको मुख्य उद्देश्य वडास्तरका टोल टोलमा रहेका पार्टी कार्यकर्ताहरूलाई संगठित गर्दै पार्टीमाथि भइरहेको चौतर्फी आक्रमणलाई सभ्य र रचनात्मक रूपमा सामना गर्नु रहेको बताइएको छ। वक्ताहरूले संगठनलाई मजबुत बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नगरभर अभियानलाई तीव्रता दिने तयारी
नेकपा (एमाले) बिर्तामोड नगर कमिटीका अनुसार नगरका अन्य वडाहरूमा पनि यही प्रकृतिको बैठक तथा छलफल भएका छन्। वडास्तरमा संगठन बलियो बनाउँदै स्थानीय जनताको चासोका विषयलाई केन्द्रित गरी अभियानलाई अघि बढाइने छ। पार्टीलाई जनस्तरमा अझ मजबुत बनाउन तथा संगठनात्मक रूपमा सशक्त बनाउन जरा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष खरेलले बताए। नगर कमिटीले आगामी दिनमा नगरका सबै वडामा चरणबद्ध रूपमा संगठन विस्तार, प्रशिक्षण, अन्तर्क्रिया तथा जनसरोकारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूले अभियानलाई सफल बनाउन एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
