झापा, चैत- ४ / झापाको बिर्तामोड–३, सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। पायल्स, फिस्टुला र फिसरजस्ता रोगलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविर बुधबार सम्पन्न भएको हो।

एन्जल फाउन्डेसन, उर्लाबारी (मोरङ) तथा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा १०२ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए। सहकारीको आफ्नै भवनमा सञ्चालन गरिएको शिविरमा डा. रोशनकुमार शाहको नेतृत्वमा १४ सदस्यीय स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो।
शिविरका क्रममा ४० जना बिरामीलाई विश्व स्वास्थ्य संगठन (WHO)बाट स्वीकृत ‘रबर ब्यान्ड लिगेशन’ प्रविधिबाट उपचार गरिएको सहकारीका प्रबन्धक रुद्रप्रसाद सिटौलाले जानकारी दिए।
यसअघि पनि सहकारीले आफ्ना शेयर सदस्यहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चैत ३० गते एक दिने स्वास्थ्यसम्बन्धी कार्यशाला आयोजना गरेको थियो। उक्त कार्यक्रममा १२५ जनाको सहभागिता रहेको शिक्षा उपसमितिका सदस्य नारायण शिवाकोटीले बताए।
सहकारीले समुदायस्तरमै स्वास्थ्य सेवा पहुँच विस्तार गर्दै जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।