आगलागी नियन्त्रणका लागि ल्याइएको दमकल प्रयोगविहीन 

✍️ सुरेन्द्र भण्डारी 

झापा : इलामको सूर्योदय नगरपालिका पछिल्ला वर्षहरूमा आगलागीका घटनाले बारम्बार आक्रान्त हुँदै आएको छ । तर, विडम्बना—आगलागी नियन्त्रणका लागि ल्याइएको दमकल भने प्रयोगविहीन अवस्थामा ग्यारेज अगाडि थन्किएको छ । स्थानीय तहको प्राथमिकता र व्यवस्थापनमाथि प्रश्न उठाउने यो दृश्यले आफैंमा धेरै कुरा बोलिरहेको छ ।

सूर्योदय नगरपालिका–९ निवासी प्रेमबहादुर लामाको घर गत फागुन ११ गते आगलागीमा परी खरानी भयो । त्यसअघि फागुन ५ गते सोही वडाका काजी लेप्चाको घर पनि जलेर नष्ट भयो । अझ पुस १४ गते वडा–९ कै जंगलमा लागेको आगो नियन्त्रण गर्न स्थानीय र प्रहरीलाई हम्मे–हम्मे परेको थियो । यो नगरमा चालु आर्थिक वर्षमै मात्रै चार वटा आगलागीका घटना भइसकेका छन् ।

स्थानीयका अनुसार पछिल्ला वर्षहरूमा आगलागीका घटना सामान्यजस्तै बन्दै गएका छन् । २०७४ सालयता नगरपालिकाभित्र ३१ वटा आगलागीका घटना भएको तथ्यांक छ, जसमध्ये आधाभन्दा बढीमा घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घर मात्र होइन, गोठ, भान्साघर, पसल, सवारी साधन र जंगलमा समेत आगलागी हुँदा करोडौंको क्षति भइसकेको छ ।

यति ठूलो जोखिम हुँदाहुँदै पनि आगलागी नियन्त्रणको प्रमुख साधन दमकल भने प्रभावकारी रूपमा प्रयोगमा आउन सकेको छैन । नगरपालिकाले २०७५ सालमा भारतीय दूतावासको सहयोगमा एउटा दमकल (वरुणयन्त्र) प्राप्त गरेको थियो ।

त्यसपछि करिब तीन वर्षअघि अर्को दमकल खरिद गरियो । तर, स्रोतका अनुसार दुई वटा दमकल सञ्चालनमा ल्याउन व्यवस्थापन चुनौती हुने भन्दै एउटा दमकल अन्यत्र सार्ने तयारी गरिएको हो ।

अहिले भारतीय दूतावासको सहयोगमा प्राप्त गरिएको दमकल झापाको बिर्तामोडस्थित एक ग्यारेज अगाडि करिब एक वर्षदेखि थन्किएको छ । खुला आकाशमुनि लामो समय राखिँदा उक्त दमकल क्रमशः कवाडीमा परिणत हुँदै गएको स्थानीयको गुनासो छ ।

बुट्टाबारीस्थित ‘भाग्यरूपा ग्यारेज’ अगाडि दमकल राखिएको भेटिएको छ । ग्यारेजका एक मिस्त्रीका अनुसार बिग्रिएको अवस्थामा ल्याइएको दमकल मर्मत गरिसकिएको भए पनि सम्बन्धित निकायले नलगेका कारण त्यहीँ थन्किएको हो । “ यो दमकल बनाइएको छ, तर लिन कोही आएन,” उनले भने ।

नगरपालिकाले भने उक्त दमकल पहाडी भू–भागमा उपयुक्त नभएको निष्कर्षसहित अर्जुनधारा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाका अनुसार मर्मत खर्च कसले व्यहोर्ने भन्ने विषय टुंगो नलाग्दा प्रक्रिया ढिलाइ भएको हो ।

Leave a Reply