झापा बिर्तामोड साउन १६ – सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याउने निर्णय गरेको छ। ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै यो व्यवस्था गरिएको हो।

अबदेखि नयाँ जारी हुने वा नवीकरण गरिने सबै प्रकारका सवारी चालक अनुमतिपत्र १० वर्षको लागि मान्य हुनेछ। नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै यो व्यवस्था कानुनी रूपमा लागू भइसकेको छ।
यससँगै चालकहरूलाई हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने सरकारको विश्वास छ। संशोधित कानुनअनुसार, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५६ मा उल्लेखित “पाँच वर्षसम्मको” भन्ने शब्द हटाई “१० वर्षसम्मको” भन्ने व्यवस्था गरिएको हो।
यातायात व्यवस्था विभागले छिट्टै कार्यान्वयनसम्बन्धी प्राविधिक निर्देशिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।