बिर्तामोड – चैत्र , २१ / झापाको शिवसताक्षी नगरपालिकामा दुईदिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।

नगरपालिकाको प्रशासनिक कार्यलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शाखा प्रमुख, वडा सचिव र स्थानीय युवाहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो।
तालिमको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले आधुनिक प्रविधिको प्रयोगबाट कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि हुने बताए। उनले दैनिक प्रशासनिक कामकाजलाई सहज र सरल बनाउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न एआई (AI) को भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

प्रविधिसँग अभ्यस्त हुनु आजको आवश्यकता रहेको उनको भनाइ थियो।
दुई दिने कार्यक्रम अन्तर्गत पहिलो दिन नगरपालिकाका शाखा प्रमुख तथा वडा सचिवहरूलाई कार्यलयको काममा प्रयोग गर्न सकिने उन्नत (एडभान्स) एआई तालिम प्रदान गरिएको थियो।
त्यस्तै, दोस्रो दिन नगरका युवाहरूलाई लक्षित गरी कृत्रिम बुद्धिमत्ताको आधारभूत जानकारी तथा प्रयोग सम्बन्धी तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
तालिमका सहजकर्ता अग्रज पत्रकार उमाकान्त खनालले पछिल्लो समय प्रविधिको प्रयोग नगरे हरेक क्षेत्रमा पछि परिने बताउँदै विश्वले आत्मसात गरिरहेको एआई प्रविधिलाई सबैले सिक्नुपर्नेमा जोड दिए।
शिवसताक्षी नगरपालिकाको आयोजना र शिवसताक्षी मिडिया प्रालिको समन्वयमा सम्पन्न सो कार्यक्रममा ३० जना कर्मचारी र ४० जना युवाहरूको सहभागिता रहेको थियो।