राप्रपा बिर्तामोडद्वारा नगर प्रमुखलाइ  १२ बुँदे ज्ञापनपत्र बुझायो 

बिर्तामोड, असार २२ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले किसान, सुकुम्बासी, स्वास्थ्य बीमा, मूल्यवृद्धि, शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न जनसरोकारका विषय उठाउँदै बिर्तामोड नगरपालिकालाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ।

नगर प्रमुखलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा मध्य खेतीको समयमा किसानले पर्याप्त मल, बीउ तथा कृषि औषधि नपाएको उल्लेख गर्दै सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरिएको छ। यस्तै, भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या समाधान गर्दै जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने वातावरण बनाउन पहल गर्न आग्रह गरिएको छ।

राप्रपाले स्वास्थ्य बीमासम्बन्धी हालको व्यवस्थाका कारण सर्वसाधारणले उपचारमा समस्या भोग्नुपरेको भन्दै बीमामार्फत हुने उपचारलाई सहज, सर्वसुलभ र झन्झटरहित बनाउन माग गरेको छ। किसानले उत्पादन गरेको खाद्यान्न तथा नगदे बालीको बिक्रीमा न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ।

त्यस्तै, आगामी बजेटमा कृषक, मजदुर तथा विपन्न वर्गलाई प्राथमिकता दिन, पालिकाबाट वितरण हुने सामग्रीको प्रक्रिया पारदर्शी बनाउन, बजारमा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न प्रभावकारी अनुगमन गर्न तथा प्रत्येक पसलमा मूल्यसूची अनिवार्य राख्न माग गरिएको छ।

ज्ञापनपत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा करको भार घटाउन, ग्यास आपूर्ति सहज बनाउन, विकास निर्माणका योजना गुणस्तरीय र पारदर्शी ढंगले सम्पन्न गर्न तथा महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख हुने बेरुजु रकम असुलउपर गर्न समेत आग्रह गरिएको छ।

सामुदायिक विद्यालयमा विभिन्न शीर्षकमा शुल्क असुली भइरहेको गुनासो आएको भन्दै त्यसको नियमन गर्न र घर नक्सा पास तथा सिफारिस दस्तुरलगायतका शुल्क जनताको पहुँचअनुसार पुनरावलोकन गर्नुपर्ने माग पनि राप्रपाले गरेको छ।

राप्रपा बिर्तामोड नगर समितिका अध्यक्ष लक्ष्मी गौतमले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उठाइएका विषयप्रति गम्भीर भई कार्यान्वयनका लागि पहल गर्न नगरपालिकासँग अनुरोध गरिएको छ।

Leave a Reply