महिला अधिकार दिवसको अवसरमा अन्तरपालिका हाजिरीजवाफ सम्पन्न

ममता अधिकारी

झापा, जेठ १७ ।सातौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा अन्तरपालिका हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ। महिला अधिकारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालयको सभा हलमा सम्पन्न भएको हो।

कार्यक्रममा झापाका १३ वटा स्थानीय तहबाट टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता महिला अधिकारसम्बन्धी जानकारीमूलक विषयमा केन्द्रित थियो, जसले सहभागीहरूमा ज्ञान अभिवृद्धिसँगै स्थानीय स्तरमा जनचेतना फैलाउने काम गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीकी अध्यक्ष लीला देवी दाहालले गर्नुभयो। प्रमुख अतिथिको रूपमा प्रदेश कमिटीकी सचिव हेमकला कट्टेलको उपस्थिति रहेको थियो।

त्यस्तै, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा महिला संघ झापा पूर्व अध्यक्ष जसमाया गजमेर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

शिव ढुङ्गेल, तुलसी कार्कीलगायत अन्य अतिथिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी टोलीहरूले महिला अधिकारका विविध पक्षमा जानकारी प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए। कडा प्रतिस्पर्धाबीच निर्णयकर्ताले निम्नानुसार विजयी टोलीको नाम घोषणा गरेका थिए:

  • प्रथम: बाह्रदशी गाउँपालिका
  • द्वितीय: दमक नगरपालिका
  • तृतीय: कन्काई नगरपालिका
  • सान्त्वना: गौरादह नगरपालिका

कार्यक्रमले महिला अधिकारप्रतिको सरोकार र चासोलाई स्थानीय तहसम्म पु¥याउन मद्दत पुर्याउने आयोजकको भनाइ छ। महिला अधिकारको सुनिश्चितता र सशक्तिकरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।