बिर्तामोड ७ मा हात्ती प्रभावित परिवारलाई हात्ती लाइट वितरण

बिर्तामोड, झापा। बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष मंगलसिन सावा लिम्बुले आफूले प्राप्त गरेको भत्ता रकम सदुपयोग गर्दै हात्ती प्रभावित क्षेत्रका करिब ४० परिवारलाई हात्ती लाइट वितरण गर्नुभएको छ।

वन संरक्षणसँगै समुदायप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै गरिएको उक्त मानवीय कार्यले स्थानीय बासिन्दालाई ठूलो राहत पुगेको छ। जंगली हात्तीको जोखिम रहने क्षेत्रमा बसोबास गर्ने परिवारहरूका लागि हात्ती लाइट प्रभावकारी सुरक्षा माध्यमका रूपमा रहेको छ।

सामुदायिक वनको नयाँ कार्यसमिति गठन तथा निर्वाचनपछि अध्यक्ष कृष्ण प्रसाद लिम्बुको नेतृत्वमा समितिले सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ। समितिले सहिद नेत्रपार्क निर्माणमा सहजीकरण, उपभोक्तालाई सहज रूपमा दाउरा वितरण, विभिन्न सामाजिक तथा सामुदायिक कार्यमा सहयोग तथा सहिद नेत्रपार्कभित्र पिकनिक स्थल निर्माणजस्ता उदाहरणीय कार्यहरू सम्पन्न गरेको छ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै समाज सेवामा समर्पित मंगलसिन सावा लिम्बुको यो योगदान स्थानीय समुदायका लागि प्रेरणादायी बनेको र उहाँको यस कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावको सन्देश प्रवाह गरेको वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताए ।

समाज परिवर्तनका लागि गरिने साना–साना सकारात्मक प्रयासहरूले नै दीर्घकालीन र ठूलो प्रभाव पार्ने भएकाले यस्ता कार्यहरू सबैका लागि अनुकरणीय छन्। स्थानीयवासीहरूले पनि उहाँको योगदानप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्।

Leave a Reply