पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेली डटकमको सहसम्पादकमा नरेन्द्र ढकाल नियुक्त 

झापा , बिर्तामोड /  झापाको बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिक पत्रिका तथा पूर्वाञ्चल डेली डटकम अनलाइनको सहसम्पादक पदमा नरेन्द्र ढकाल नियुक्त हुनुभएको छ।

पत्रकारिता क्षेत्रमा स्थापित नाम ढकाललाई शुक्रबारदेखि लागू हुने गरी सहसम्पादकको जिम्मेवारी नियुक्त गरिएको संस्थाका व्यवस्थापक चन्द्रकान्त ढकालले जानकारी दिनुभयो। यसअघि उहाँ सोही सञ्चारगृहमा अनलाइन समाचार संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।

विभिन्न मिडियामा सम्पादकीय नेतृत्व र महत्त्वपूर्ण पदमा रहेर काम गरिसक्नुभएका ढकालसँग नेपाली पत्रकारिता क्षेत्रमा लेखन तथा सम्पादनको लामो र परिपक्व अनुभव छ। उहाँ विगत सात वर्षदेखि पूर्वाञ्चल दैनिकमा आबद्ध रही विभिन्न विभाग र जिम्मेवारीमा उत्कृष्ट कार्यसम्पादन गर्दै आउनुभएको छ।

वि.सं. २०६४ सालबाट बिर्ता एफएमबाट रेडियो पत्रकारिता शुरु गर्नुभएका ढकालले एफएम मेची ट्युन्स तथा रेडियो विराटको सम्पादकको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसक्नुभएको छ । ढकालले आमसञ्चार डटकमको सम्पादको जिम्मेवारी बहन गर्दै अनलाइन सञ्चारमाध्यको समेत अनुभव लिइसक्नुभएको छ । रेडियो पत्रकारिताकै समयमा पूर्वाञ्चल दैनिकसंग जोडिनुभएका ढकालले समाचारदाताको रुपमा समेत लामो समय काम गर्नुभएको थियो । पूर्वाञ्चल दैनिकको अनलाइन संस्करण पूर्वाञ्चल डेलीडटकमको समाचार संयोजककको जिम्मेवारी सम्हाल्दै ढकाल नियुक्त हुनुभएको थियो ।

सहसम्पादक पदमा नियुक्त हुनुभएका ढकाललाई पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीले बधाई ज्ञापन गर्नुभएको छ । बधाई तथा कार्यसफलताको शुभकामना दिँदै प्रकाशक गिरीले आगामी दिनमा पत्रकारिताको साख जोगाउँदै अझ बढी मर्यादित, व्यावसायिक र जनउत्तरदायी पत्रकारिता गर्न ढकाललाई सुझाव दिनुभयो।

यसअघि लामो समयदेखि सहसम्पादकको भूमिकामा रहनुभएका पत्रकार सुरेन्द्र भण्डारीले गत जेठ महिनादेखि प्रकाशन गृहबाट विदा लिनुभएको छ । भण्डारीले पूर्वाञ्चल दैनिकमा विभिन्न पदमा रहेर डेढ दशकभन्दा बढी सेवा प्रदान गर्नुभएको थियो । पूर्वाञ्चल दैनिक प्रकाशन गृहले भण्डारीले पुर्याउनुभएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply