बिर्तामोड, असार १० – खेलकुद क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिंदै बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले कराते खेल अभ्यासका लागि आवश्यक सामग्री प्रदान गरेको छ। सोमबार आयोजित एक कार्यक्रमबीच कराते प्रशिक्षक दुर्गा निरौलालाई म्याट हस्तान्तरण गरिएको हो।

वडा अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य हरिप्रसाद बास्कोटा, सञ्चारकर्मी टिकाराम बास्तोला, खेलप्रेमीहरू र स्थानीयको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै वडा सदस्य हरिप्रसाद बास्कोटाले युवा पुस्तालाई गलत बाटोबाट जोगाउँदै खेलकुदतर्फ आकर्षित गराउन यस्ता सहयोग महत्वपूर्ण हुने धारणा राखे। “खेलकुदले व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक ऊर्जा भरिदिन्छ,” उनले भने, “हामी वडाले खेल प्रशिक्षक र खेलाडीहरूलाई आवश्यक पर्ने आधारभूत संरचना र सामग्री उपलब्ध गराउन निरन्तर लागिरहनेछौं।”

वडा अध्यक्ष मदन बुढाथोकीले खेलकुद क्षेत्रमा वडाको सक्रियता अझ बढाउने प्रतिबद्धता व्यक्त गरे। “खेल हाम्रो पहिचान हो, यसलाई स्थानीय तहबाटै संरक्षण र प्रवर्द्धन गर्नुपर्छ,” उनले भने।

म्याट हस्तान्तरणपछि कराते प्रशिक्षक दुर्गा निरौलाले सहयोगप्रति आभार व्यक्त गर्दै नियमित प्रशिक्षणमा यसले सहजता ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सञ्चारकर्मी टिकाराम बास्तोलाले स्थानीय तहको यस्ता पहलले समाजमा खेल संस्कृतिको विकास हुने बताए।