राष्ट्रिय भलिबल खेलाडीबाट सफल किसान बने भरत यादव 

बिर्तामोड , झापा / भद्रपुर नगरपालिका–४ निवासी भरत यादव राष्ट्रिय स्तरका चर्चित भलिबल खेलाडी तथा भद्रपुर नगरपालिकाका खेल प्रशिक्षक (कोच) हुन्। खेलकुदसँगै उनले ‘यादव कृषि फार्म’ मार्फत २०७५ सालदेखि व्यावसायिक कृषि गर्दै आएका छन्।

करिब १० बिघा क्षेत्रफलमा बोडी, भिन्डी, लौका, खुर्सानी, उखुलगायत बेमौसमी तरकारी तथा फलफूल खेती गर्दै आएका साहाले हाल नियमित पाँच जनालाई रोजगारी दिएका छन्। परिवारका सदस्यहरू पनि खेतीमा सक्रिय छन् भने आवश्यकताअनुसार महिनामा २५ जनासम्मलाई अस्थायी रोजगारी प्रदान गर्ने गरेका छन्।

यादवका अनुसार बेमौसमी तरकारी खेतीमा चुनौती भए पनि राम्रो आम्दानी हुने भएकाले यसलाई निरन्तरता दिएका हुन्। उनले उत्पादन गरेका तरकारी भद्रपुर नगरपालिकाभित्रकै बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ। वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए।

उनले समयमा गुणस्तरीय मल र बीउ नपाउनु किसानको मुख्य समस्या रहेको गुनासो गरे। विदेशमा १२ घण्टा श्रम गर्नुभन्दा आफ्नै देशमा परिवारसँग बसेर कृषि गर्नु बढी सम्मानजनक र लाभदायी हुने उनको भनाइ छ।


यादव भन्छन्, “नेपालमा खेलाडी भएर खेल खेलेर मात्रै जीविकोपार्जन गर्न निकै कठिन छ। त्यसैले खेलकुदसँगै कृषि पेशामा पनि लागेको हुँ।”

युवाहरूलाई कृषि पेशातर्फ आकर्षित हुन आग्रह गर्दै उनले भने, “हाम्रो माटो उर्वर छ, मेहनत गरे उत्पादन र आम्दानी दुवै गर्न सकिन्छ। आज धेरै युवा लागुऔषधको कुलतमा फसिरहेका छन्। काममा व्यस्त रहने हो भने नकारात्मक सोच र कुलतबाट टाढा रहन सकिन्छ।”

खेलाडी भएर किसान बनेपछि साथीहरूले कहिलेकाहीँ ‘तरकारी लिएर आउनुपर्छ’ भन्दै जिस्काउने गरेको सुनाउँदै उनी हाँस्दै भन्छन्, “बरु घरमै आउनुहोस्, ताजा तरकारी खुवाउँछु।

Leave a Reply