बिर्तामोड झापा । अर्जुनधारा नगरपालिका–६, पशुपति टोलमा बसोबास गर्दै आएका आर्थिक अवस्था कमजोर परिवारका वृद्ध सोम हस्ता बाको निधनपछि दशगात्र कर्ममा रहेका परिवारलाई पशुपति युवा समूहले खाद्यान्न सामग्री सहयोग गरेको छ।

स्वर्गीय हस्ताको २०८३ साल साउन ३१ गते निधन भएपछि दशगात्र कर्ममा रहेका परिवारलाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराइएको हो। समूहका उपाध्यक्ष बबिन न्यौपानेको नेतृत्वमा समूहमा आबद्ध सदस्यहरूबाट आर्थिक सहयोग संकलन गरी खाद्यान्न सामग्री खरिद गरेर परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ।
दशगात्र कर्ममा रहेका स्वर्गीय हस्ता बाका छोराहरू चुट्के हस्ता र अमिन हस्ता तथा छोरीहरू मयुर हस्ता, फुलमुनी हस्ता र सरला हस्ता रहेका छन्।
समूहका कोषाध्यक्ष विष्णु सिटौलाका अनुसार आर्थिक रूपमा कमजोर परिवारलाई दुःखको समयमा केही राहत पुगोस् भन्ने उद्देश्यले सदस्यहरूबाट सहयोग संकलन गरी आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराइएको हो।
उनले दुःखमा साथ दिने, अप्ठ्यारोमा सहयोग गर्ने र आवश्यक पर्दा आफ्नै समुदायका लागि उभिने संस्कारलाई समूहले निरन्तरता दिँदै आएको बताए।
पशुपति युवा समूहको यस मानवीय तथा सामाजिक कार्यले दुःखमा परेका परिवारलाई राहत प्रदान गर्नुका साथै समुदायमा आपसी सद्भाव, सहयोग र एकताको भावना अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।