विर्तामोड, झापा — नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा भएको आन्दोलनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न विर्तामोड नगरभित्रका प्रधानाध्यापकहरूबीच एक महत्वपूर्ण छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।

छलफलमा सहभागी प्रधानाध्यापकहरूले आन्दोलनप्रति एकमत समर्थन जनाउँदै, आन्दोलनलाई सफल र ऐतिहासिक बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा निर्णय गरिएअनुसार अर्को सूचना नआएसम्म नगरभित्रका सबै विद्यालयमा भर्ना प्रक्रिया पूर्ण रूपमा स्थगित गरिनेछ। साथै, कक्षा–१२ को परीक्षामा केन्द्राध्यक्ष नबस्ने, उत्तरपुस्तिका मूल्याङ्कनमा सहभागी नहुने र अरूलाई समेत सहभागी हुन नदिने सहमति गरिएको छ।
शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनमा समेत सक्रिय रुपमा सहभागी हुने र संगठनले आवश्यक ठानेका सबै कदममा साथ दिने स्पष्ट घोषणा गरिएको छ।
