सहारा नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि १५ लाख सहयोग गर्ने 

झापा,  बिर्तामोड / देशकै ठूलो सहकारी संस्थामध्ये एक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।

‘मेरो गौरव, मेरो सहारा, सबैका लागि सधैँका लागि’ भन्ने नारासहित सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको कार्यकारी प्रमुख गिरीले बताए। प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै सहारा नेपालले आफ्नो तर्फबाट समेत योगदान गर्ने निर्णय गरेको जनाएको छ।

सहारा नेपालले बाढी तथा विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको सकुशल उद्धारका लागि समेत कामना गरेको छ।

Leave a Reply