झापा बिर्तामोड / गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।


सरुवा सूचीअनुसार गृह मन्त्रालय वा अन्तर्गत सहसचिवका रूपमा कार्यरत श्रवण कुमार पोखरेललाई राजपत्र प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय, झापा पठाइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। उनले पदबाट राजीनामा दिई सकेका छन् ।
त्यस्तै, महेन्द्र कुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई गोरखा पठाइएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ। खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।