सरिताको स्मृतिमा बालग्राम र वृद्धाश्रमलाई खाद्यान्न सहयोग

झापा, बिर्तामोड  – असोज । स्वर्गीय सरिता पौडेल (पाण्डे) को पहिलो वार्षिक पुण्यतिथिको अवसरमा उहाँको माइती परिवारले सामाजिक सेवामार्फत स्मरण गरेको छ। परिवारले बिर्तामोडका बालग्राम तथा वृद्धाश्रममा खाद्यान्न र भोजन सहयोग गर्दै सरिताको सम्झनालाई सामाजिक सेवासँग जोडेको हो।

हल्दीबारी–१, गोलधाप निवासी केवल प्रसाद पौडेलकी सुपुत्री सरिताको ४५ वर्षको उमेरमा २०८२ साल असोज ३ गते असामयिक निधन भएको थियो। उहाँको पहिलो वार्षिक पुण्यतिथिका अवसरमा माइती परिवारले बिर्तामोड–४ स्थित तारा नमस्ते बालग्राम पुगेर आश्रित बालबालिकाका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।

सहयोग सामग्री हस्तान्तरण गर्दै सरिताका भाइ सुवाष पौडेलले स्वर्गीय दिदीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बालग्राममा आश्रित बालबालिकाको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले दिवंगत दिदीको सम्झनामा गरिएको सहयोगले सामाजिक सेवाको भावनालाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, परिवारले बिर्तामोडस्थित परोपकार वृद्ध आश्रम मा समेत एक दिनको भोजनसहित आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको छ। वृद्धवृद्धालाई भोजन गराउँदै परिवारले पुण्यतिथिलाई अर्थपूर्ण बनाएको हो।सरिताको स्मृतिलाई केवल औपचारिक रूपमा सीमित नराखी असहाय, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवामा जोड्ने उद्देश्यले सामाजिक कार्य गरिएको नातेदार हिमाल मैनालीले जानकारी दिनुभयो।

परिवारले स्वर्गीय सरिताको आत्माको चिरशान्तिको कामना गर्दै उहाँले छाडेर गएको सम्झनालाई यस्ता मानवीय र सामाजिक कार्यमार्फत जीवन्त राख्ने प्रयास गरिएको जनाएको छ।

Leave a Reply