सुरुङ्गामा कनकाई मिनी गोल्डकपको दोस्रो संस्करण हुँदै

झापा । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा कनकाई मिनी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ। कनकाई स्पोटिङ क्लबको आयोजनामा प्रतियोगिता असोज २३ गते शुक्रबारदेखि ३० गतेसम्म कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको हो।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाटमा आयोजक क्लबका अध्यक्ष इन्द्रजित बुढाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। कनकाई नगरपालिका तथा झापा जिल्लामा फुटबल खेलको विकास गर्ने, प्रतिभावान खेलाडीको पहिचान, उत्पादन तथा प्रवर्द्धन गर्ने र युवालाई स्वस्थ, अनुशासित तथा सकारात्मक जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बुढाले बताए।

प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, म्यान अफ द सिरिज र उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अध्यक्ष बुढाका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ५० हजार २०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न कनकाई नगरपालिका, विभिन्न संघसंस्था तथा खेलप्रेमीहरूको सहयोग रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्ने बताइएको छ।

Leave a Reply