झापा , बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर ३ को नयाँ समावेशी टोल विकास संस्थाको आयोजनामा चाडपर्वलाई लक्षित गर्दै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। टोलवासीबीच आपसी सद्भाव, भाइचारा र एकता कायम राख्दै चाडपर्वलाई शान्तिपूर्ण वातावरणमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

टोल विकास संस्थाका अध्यक्ष टंकप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य हरिप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यता तथा समाजसेवी वीरेन कोइराला र कोसिस घिमिरेलगायत टोलका अग्रजहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कोसिस घिमिरे र वीरेन कोइरालाले चाडपर्वको शुभकामना मन्तव्य व्यक्त गर्दै समाजमा आपसी सद्भाव, सहकार्य र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै टोल विकास संस्थाका अध्यक्ष टंक चापागाईले चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न, टोलवासीबीच आत्मीयता बढाउन र आपसी भाइचाराको सम्बन्ध सुदृढ बनाउन शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रमले टोलवासीबीच आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने टोल सदस्य दिपु सापकोटा अपेक्षा गरिएको बताउछन l
प्रमुख अतिथि वडा सदस्य हरिप्रसाद बाँस्कोटाले चाडपर्वलाई आफ्नो आर्थिक क्षमताअनुसार मनाउन आग्रह गर्दै टोलमा कुनै पनि अवाञ्छित गतिविधि भएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरे। उनले चाडपर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन सबै टोलवासीको सहयोग आवश्यक रहेको बताए।
शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन भुवन प्रसाईंले गरेका थिए।
