२३ फागुन २०८१, बिर्तामोड, विद्यालय पोशाकमा रहेका विद्यार्थीहरुलाई मादक पदार्थ बिक्री गरेको आरोपमा स्थानीय ब्रदर होटलका सञ्चालक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। घटना हिजो बिहान १० बजे विद्यालय लाग्ने बेलामा घटेको हो।

तस्बिर: एआई-निर्मित
प्रारम्भिक अनुसन्धान अनुसार, कक्षा ९ मा अध्ययनरत तीन जना छात्र र तीन जना छात्रालाई होटल सञ्चालक बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए। यसको प्रभावले एक जना विद्यार्थी सिकिस्त अवस्थामा पुगेका थिए। उक्त विद्यार्थी लगातार बान्ता गरिरहेको देखेपछि विद्यालयका शिक्षकले उनलाई होटलबाट अटोमा हालेर ल्याउनु परेको थियो। विद्यालय परिवारले घटनाका बारेमा विद्यार्थीका अभिभावकलाई जानकारी दिई जिम्मेवारी बुझाएको छ भने प्रहरीलाई पनि घटनाको रिपोर्ट गरिएको छ। विद्यालयका शिक्षकबाट जानकारी पाएपछि बिर्तामोड प्रहरी कार्यालयले टोली खटाएर होटल सञ्चालक बस्नेतलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा बिर्तामोड प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले बताए अनुसार, अभिभावकको जाहेरीका आधारमा अभद्र व्यवहार शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
आजै उक्त विद्यालयका तीन जना विद्यार्थी गाँजासहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ। घटनाको गम्भीरतालाई मध्यनजर राख्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
स्रोत: pratidindaily.com