मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजका नर्सिङ विद्यार्थीद्वारा स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न

२८ फागुन २०८१, बिर्तामोड, झापा । मनमोहन मेमोरियल पूर्वाञ्चल कलेज, नर्सिङ संकाय प्रथम वर्षका विद्यार्थीहरूले बिर्तामोड नगरपालिका वडा नं ७ स्थित लक्ष्मी आधारभूत विद्यालय (बिरान स्कूल) मा स्वास्थ्य सम्बन्धी प्रदर्शनी कार्यक्रम सम्पन्न गरेका छन्।

विद्यार्थी भाइबहिनीहरूलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थ्य सम्बन्धी राम्रा र नराम्रा बानी, राष्ट्रिय खोप कार्यक्रम र यसको समयतालिका, सन्तुलित आहारको महत्त्व तथा पानी शुद्धीकरणका विभिन्न विधिहरूको बारेमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले गरेका थिए भने प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण अविरल खरेल रहनुभएको थियो। विद्यालयका विद्यार्थीहरूले उत्साहका साथ सहभागिता जनाएका थिए।

मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजका क्याम्पस प्रमुख जय नारायण खतिवडाले कार्यक्रम आयोजनामा विद्यालय प्रशासन, वडा कार्यालय तथा अन्य सरोकारवाला पक्षहरूको सहयोगप्रति धन्यवाद व्यक्त गरे। प्रमुख अतिथि खरेलले विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा स्वास्थ्य शिक्षा प्रदान गर्ने यस कार्यक्रम उपयोगी रहेको भन्दै आगामी वर्षहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक लामिछानेले पाठ्यक्रमका विषयवस्तुहरू प्रदर्शनी मार्फत सिक्ने अवसर प्राप्त गर्नु विद्यार्थीहरूका लागि महत्त्वपूर्ण रहेको बताउँदै आफ्नो विद्यालयमा यस्ता कार्यक्रम आयोजना गरिनुमा खुसी व्यक्त गरे।

कार्यक्रमको सफल समापनसँगै उपस्थित विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी ज्ञान हासिल गर्न पाएकोमा सन्तोष व्यक्त गरे।