बिर्तामोड, झापा – बिर्तामोड-७ मा अवस्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।

समूहका अध्यक्ष बद्री प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथि रहेका थिए। साथै, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नं. ७ का अध्यक्ष अविरल कृष्ण खरेल, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुबास भट्टराईलगायतको उपस्थिति रहेको थियो।

अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्याकुरेलले वनले कुल ३३ लाख ५४ हजार ५२८ आम्दानी गर्दा २२ लाख ८३ हजार ८५४ रुपैयाँ खर्च भएको जानकारी गराए।

सामुदायिक वनलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न विभिन्न संरचनाहरू निर्माण भइरहेको अध्यक्ष प्याकुरेलले बताए। हालसम्म श्रमदानमार्फत वन संरक्षणका लागि घेराबार, सरसफाइ, पोखरी निर्माण, भुटानी शरणार्थी बसेका स्थानहरूमा रंगरोगन तथा संघीय सरकारको बजेटबाट हात्तीबाट जोगाउन फेन्सिङ तार जडान गरिएको जानकारी दिए।
