बिर्तामोडका डा. सुमन खरेल प्राध्यापक संगठनको महासचिवमा उम्मेदवार

बिर्तामोड, चैत २३ — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औं केन्द्रीय अधिवेशनमा झापा बिर्तामोडका डा. सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ग्रामीण विकास विषयका सहप्राध्यापक रहेका खरेल हाल संगठनको उपमहासचिवको जिम्मेवारीमा छन्। २० वर्षभन्दा बढी समयदेखि प्राध्यापनमा सक्रिय रहेका खरेल संगठनको केन्द्रीय सदस्य र उपमहासचिवका रूपमा पनि अनुभव बटुलिसकेका छन्।

स्थानीय शासनअन्तर्गत सार्वजनिक सेवा प्रवाह विषयमा पीएचडी गरेका खरेल ग्रामीण विकास, सुशासन र स्थानीय शासनका विषयमा विशेष दख्खल राख्छन्। उनका लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित हुँदै आएका छन् भने आधा दर्जन पुस्तकहरू पनि बजारमा आइसकेका छन्।

सरल, शान्त र बौद्धिक व्यक्तित्वका रूपमा चिनिने खरेल संगठनको नेतृत्वमा प्राज्ञिक सोचसहित पेशागत हकहितका मुद्दा उठाउने अठोटमा छन्। संगठनको ११औं केन्द्रीय अधिवेशन आगामी वैशाख ८ र ९ गते काठमाडौंमा हुँदैछ।