२५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यरोजस्तो देखिएको छ ।
केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ । यहीबीच हाई क्लाउड र स्थानीय वायुका कारण आज काठमाडौं उपत्यका दिनभर नै धुम्मिएर बसेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ हरिप्रसाद दाहाल बताउँछन् ।
आज काठमाडौं उपत्यकाको आकाशमा हाई क्लाउड छ । त्यसमा पनि पोलुसन छ । जसका कारण आकाश धुम्मिएको हो । भोलि मंगलबारदेखि भने काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ,’ दाहालले अनलानखबरसँग भने ।
छिमेकी मुलुक भारतमा देखिएको न्यून चापीय प्रणालीको असर नेपालमा पनि पर्ने सम्भावना रहेकोले भोलि, पर्सि र निकोर्सि पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको उनले बताए । अनलाइन खबरबाट