नेकपा (एमाले)को ७६ औँ स्थापना दिवस: झापाका हरिचरण शिवाकोटीसहित सातजनालाई सम्मान गर्ने

१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७६औँ स्थापना दिवसको अवसरमा वैशाख ९ गते सातजना विशिष्ट व्यक्तित्वलाई ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मान गर्ने भएको छ।

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका सात व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार सम्मानित हुनेमा झापाका हरिचरण शिवाकोटीसहित लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (जाजरकोट) मरणोपरान्त, शोभाराम बस्नेत (दाङ), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), र सत्यनारायण मण्डल (सप्तरी) हुनुहुन्छ।

राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी झापामा पार्टीको संगठन सुदृढ गर्न, स्थानीय तहमा जनसंपर्क विस्तार गर्न र कम्युनिष्ट आन्दोलनको मूल्य-मान्यतालाई प्रवर्द्धन गर्न निरन्तर सक्रिय रहेका छन्। यस सम्मानले उहाँको योगदानको औपचारिक कदर गर्ने पार्टी कार्यकर्ता माझ विश्वास रहेको छ।

पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याउने पुराना नेता तथा कार्यकर्ताको सम्मान गरेर वर्तमान पुस्तालाई प्रेरणा दिने उद्देश्यले यो निर्णय गरेको जनाइएको छ।