भद्रपुरमा विपन्न परिवारलाई आवास हस्तान्तरण, राष्ट्रिय युवा संघको पहलमा ६ लाखको लागतमा घर निर्माण

भद्रपुर, झापा ।

राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास एक विशेष कार्यक्रमका बीच शनिवार हस्तान्तरण गरिएको छ। भद्रपुर–१० मा करिब ६ लाख रुपैयाँको लागतमा तयार गरिएको उक्त घर घनश्याम दर्जीलाई हस्तान्तरण गरिएको हो।

संघले पहिलोपटक हिरादेवी दर्जीका लागि घर निर्माण सुरु गरेको थियो। तर, उनको असामयिक निधनपछि आवास उनका छोरा घनश्याम दर्जीलाई हस्तान्तरण गरिएको नगर कमिटी अध्यक्ष दीपक बुढाथोकीले जानकारी दिए।

घर हस्तान्तरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदेम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा एमालेका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त बानियाँ, प्रदेश कमिटी सदस्य एवं भद्रपुर इन्चार्ज घनश्याम अधिकारी, शिव राज भण्डारी, जिल्ला अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, उपसचिव असारु राजवंशी उपसचिव अनिता कन्दङवालगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदानसमेत गरिएको थियो। अध्यक्ष बुढाथोकीका अनुसार राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले विगत केही वर्षदेखि नै विपन्न तथा गरिब परिवारका लागि आवास निर्माण कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ।