खेलकुद महासंघ कोशी प्रदेशको प्रथम बैठक सम्पन्न

ममता अधिकारी

झापा, असार १४ । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको प्रथम बैठक कमिटी अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर बैठक आयोजना गरिएको हो।

बैठकले कोशी प्रदेशभरि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, प्रत्येक वडादेखि क्लब स्तरसम्म संगठन विस्तार गर्ने र भाद्र मसान्तभित्र अवधि पुगेका जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्देशन दिएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो। उहाँले एमालेको ‘मिसन ८४’ सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरू प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

बैठकमा महासंघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि पर्शुराम बस्नेतले खेलकुद क्षेत्र नेपालको विकासको अपरिहार्य आधार भएको बताउँदै राज्यले खेलाडीहरूको क्षमता विकास तथा खेल प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले विभिन्न खेलकर्मीहरूलाई एकीकृत गर्दै महासंघले समग्र खेलकुद विकासमा योगदान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी, बैठकमा बस्नेतले तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी प्रशिक्षणसमेत दिनुभयो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा विशिष्ट अतिथि जीवन घिमिरेले मार्क्सवाद, ऐतिहासिक द्वन्दात्मक भौतिकवाद, तथा नेपाली कम्युनिस्ट आन्दोलनमा जबजको भूमिका र अध्यात्मवाद–भौतिकवादबीचको भिन्नता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य महासंघका उपाध्यक्ष भीम लिवाङले गर्नुभएको थियो।