कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने, बोर्डको निर्णय

९ वैशाख, झापा । शिक्षक आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले कक्षा १२ को परीक्षा प्रभावित हुनसक्ने आशंका गरिएका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तोकिएको मितिमै हुने स्पष्ट पारेको छ।

बोर्डले आज बिहान बैठक बसेर वैशाख ११ गतेदेखि सुरु हुने परीक्षालाई नरोक्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा निर्धारित तालिकाअनुसार नै हुने जानकारी दिएका छन्।

‘परीक्षा नरोकिने छ, तयारीमा लाग्न विद्यार्थीहरुलाई आग्रह छ,’ शर्माले भने।

शिक्षक तथा विद्यालय कर्मचारीहरूको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले परीक्षा सर्छ कि भन्ने शंका व्यक्त गरेका थिए। तर बोर्डले सम्पूर्ण जिल्ला परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई समयमै परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि कुनै द्विविधा नराखी तयारी गर्न विद्यार्थीलाई आग्रह गरेका छन्। उनले भने, ‘परीक्षा हुन्छ, निर्भीक भएर तयारी गर्न विद्यार्थीहरूलाई अनुरोध छ।’