नेपाल धितोपत्र बोर्डबाट झापा ईनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

बिर्तामोड, असार ३०।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले झापा जिल्लामा स्थापित झापा ईनर्जी लिमिटेडलाई सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्न अनुमति दिएको छ। कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर निष्कासन गर्नेछ।

यस सेयर निष्कासनबाट झापा ईनर्जीले करिब ९ करोड ५० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ। सो आईपीओ निष्कासनको व्यवस्थापन सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ। यस सम्बन्धमा झापा ईनर्जी र सिभिल क्यापिटलबीच बिक्री व्यवस्थापन सम्झौता भइसकेको छ।

झापा ईनर्जी लिमिटेडले झापाको शिवसताक्षी नगरपालिका–४ मा निर्माणाधीन १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सञ्चालनमा ल्याउने तयारीमा छ। हालसम्म यो परियोजनाको ८० प्रतिशत भौतिक प्रगति भइसकेको कम्पनीले जनाएको छ। योजना अनुसार आगामी केही महिनामै परियोजना सञ्चालनमा ल्याइनेछ।

कम्पनीले उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षका लागि प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा बिक्री गर्ने समझदारी (PPA) गरिसकेको छ। सौर्य प्लान्टबाट वार्षिक करिब १७.६१ गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

आईपीओबाट उठ्ने पूँजी परियोजनाको बाँकी निर्माण कार्यमा उपयोग गरिनेछ। यसअघि कम्पनीले स्थानीय प्रभावित क्षेत्रका बासिन्दालाई आरक्षित सेयर प्रदान गरिसकेको छ भने अब सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको झापा इनर्जीका प्रवन्धक सुभास भट्टराईले जानकारी गराए l

यो समाचारसँगै झापा ईनर्जी लिमिटेड अब पूँजी बजारमा औपचारिक रूपमा प्रवेश गर्ने अन्तिम चरणमा पुगेको छ। यसले झापा जिल्लाको ऊर्जा तथा लगानी क्षेत्रलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।