बिर्तामोड । झापाको बिर्तामोड–३ मा रहेको डोमालाल राजबंशी रंगशालामा रहेका अबैध टहरा हटाउन अटेर गरेपछि नगरपालिकाले दोस्रो पटक सुचना जारी गरेको छ ।

रंगशाला वरपर अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउन बिर्तामोड नगरपालिकाले दोस्रोपटक १५ दिने सूचना जारी गरेको हो । नगरपालिकाले २०८२ वैशाख ८ गते जारी गरेको यो दोस्रो सूचना हो, जसमा यसअघि २०८१ माघ २९ गते प्रकाशित गरिएको ३५ दिने सूचनालाई स्मरण गराइएको छ।
सूचनामा भनिएको छ, “निर्धारित १५ दिनभित्र सार्वजनिक जग्गा खाली नगरेमा बिर्तामोड नगरपालिका स्वयंले कानुनबमोजिम संरचना हटाउनेछ र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा पक्षहरूबाट नै असुल उपर गरिनेछ।” यो सूचना प्रशासनिक अधिकृत सागर मिश्रको हस्ताक्षरमा प्रकाशित गरिएको हो।
नगरपालिकाले देवी गुठीको स्वामित्वमा रहेको रंगशाला क्षेत्रलाई सुरक्षित राख्दै घेराबाराको काम अघि बढाएको छ। संघीय सरकारबाट विनियोजित भ्याटसहित ६४ लाख रुपैयाँको बजेटमा पृथ्वी निर्माण सेवा नामक कम्पनीले काम गरिरहेको छ।

हालसम्म करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको भए पनि रंगशाला वरपर रहेका टहरा र अवैध संरचनाहरू नहटाइएका कारण बाँकी काम रोकिएको निर्माण पक्षको भनाइ छ।
निर्माण कम्पनीका प्रतिनिधि विज्यु कुमार श्रेष्ठले अवरुद्ध कामलाई सहज बनाउन नगरपालिका र सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताए। उनले भने, “हामीले हालसम्म २५ वटा पिलर बनाएर राखिसकेका छौं, तर अवरोधका कारण काम अघि बढाउन सकिएको छैन। सहजीकरणमा सहयोग गरिनुपर्छ भनेर नगरपालिकासँग अनुरोध गरेका छौं।”

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सशक्त अभियान अघि बढाइरहेको छ। रंगशालाको पूर्वाधार विकास तथा व्यवस्थित रूप दिनका लागि अवैध अतिक्रमण हटाउनुपर्ने आवश्यकता अझ स्पष्ट देखिएको छ।